शिवकुमार राई
गोर्खा, ७ फरवरी १९४८

भर्खर मात्र कठ्यांगिएको परतन्त्रताको माटो फारेर निस्किएको स्वतन्त्रताको बिउ राम्ररी प्रहार देख्न नपाई सूर्य अस्त भए । विश्व ज्योति सधैँको निमित्त निभ्यो । भारतवर्षमा अन्धकार छाएको छ, संसारले यो एटम युगमा पनि यीशु ख्रीष्ट, मुहम्मद, बुद्धपछि आत्माको फिलफिले ज्योति देख्न प्रयास गरेको थियो तर मानिसको कालो हातले धमिलाई दियो । भारतका आत्मा मुटु नशा, छिन्न भिन्न भए, त्याग, सेवा र बलिदानको पथ मानिसहरूले राष्ट्रीय पिताको रगतले रङ्गाए | भारतमा शान्ति र पुत्रहरूमा वृद्धि आओस् भनी बापूजीले अहिंसाको वेदीमा आफैलाई बलि चड़ाए।
आज राष्ट्रीय पिताको हत्याको पाप एक व्यक्ति माथि होइन तर सारा भारतवासी माथि छ। यी रगतले रङ्गिएका हात पखाल्नलाई आँसुको नदी बहाउनु पर्नेछ औ हृदय पगालेर प्रेमको घारो लगाउनु पर्नेछ । संसारमा महान् व्यक्ति जब जसको एक मात्र स्मृति सजीव छ उहाँको पवित्र स्मृतिमा हाम्रो श्रद्धाञ्जलि अर्पण गछौँ । उहाँको आत्माले चिर शान्ति पाउन् औ भारतका कर्णधारहरूले यो बज्र सहन गर्ने शक्ति औ यस्तो विकट परिस्थितिमा राष्ट्रको भार सम्हाल्न सक्ने बल ईश्वरले दिउन् ।
गोर्खा, ७ फरवरी १९४८,
सौजन्य- भारतीय नेपाली साहित्य राष्ट्रीयताको सन्दर्भमा,
सम्पादन-सङ्कलनः आर०पी० लामा, साहित्य अकादेमी, नयाँ दिल्ली, प्र०सं० १९९४

The article has been republised here with permission from the editors of Shiva Kumar Rai Granthawali.

