THE KAKU

नेपाली जाति कतातिर ?

इन्द्रबहादुर राई
अप्रिल १६६३

कति कारणहरू जन्मिई, आज नेपाली जातित्व र सामाजिकतामाथि आशंका जस्तो केही अनुभूत छ, र सन्दर्भमा प्रश्न उभिन्छ: नेपाली जाति कतातिर? जाति र समाजलाई फेरि हामीले नियालेर हेर्नुपर्ने भएको छ।

मानिसलाई समाजले दिएको थोकहरू – भाषा, धर्म, कला, संस्कृति, अधिकार, सुरक्षा आदि – सबै खोसिदिए मानिस फेरि वनको पशुहरूको तहमा पुग्छ, भनिएको छ। भारतमा हामीलाई नेपाली जातित्वले जुन विजय र अधिकारहरू प्राप्त गराइदिएको छ, जुन चिन्हारी र आदरमा उभ्याइदिएको छ, सब तीबाट च्युत बने नेपालीहरू झरेर फेरि कुन स्तरमा पुग्छौं? त्यसरी फुटेका हामीहरूलाई भारतमा बाँच्न र मान्छे बन्न आजभन्दा सजिलो हुन्छ कि? जातिनै रहेका अरू कस-कससँग जोड़िन पुगी फुटेका हामीहरू हराउँदैनौं कि?

प्रायः पन्ध्र वर्षअघि एउटा लेखमा लेखेको थिएँ: नेपाली जाति पूर्णविकसित बनी ठर्रिसकेको छैन, अझ केही गिलै छ; एकत्वकारी बलहरूसँगै विभेदनकारी तत्त्वहरू छ यसमा। आज देख्दैछौं नेपाली जाति खरानीकै डल्लो रहेको छैन तर फलामकै डल्लो पनि बनेको छैन। भारतका कति जातिहरूसँग दाँज्दा हामी यो देख्छौं। विकसित जातिको हुन्छः एक भूगोल, एक इतिहास, एक आर्थिकता, एक भाषा, एक धर्म, एक सामाजिकता, एक संस्कृति, एक मनोभावना, एक जातीय चरित्र। विकसित कुनै पनि एउटै जातिमा सब यी घटित नपाइएलान्, तर निकैवटानै नहुनु धेरैनै जातीय कमजोरी हुन्छ।

भारतमा नेपाली जातित्वको विकासको मूल थलो थियो दार्जिलिङ (सन् १८५०-१९५०)। भौगोलिक नेपालको सरहदमा हामी विभिन्न जनगोष्ठीहरू थियौं; राजनीतिको, सामाजिक, आर्थिक साझा अनुभवहरूले हामी एक विशेष मनोभावात्मक एकत्व बनिसकेको थियौं, र दार्जिलिङमा अन्य जातिको विपरीततामा सामूहिक रूपले आफूलाई गोर्खा वा नेपाली जाति चिन्यौं। भारतका अन्य भागका नेपालीहरूमा दुइ-एक जातको मात्र बहुता थियो र एकत्वमा सहजै बद्ध हुनसक्थे। त्यो जात एकत्व थियो। दार्जिलिङमा आइपुगेका थिए सब जात, सब थर। यिनीहरूमा जातीय एकत्व विकसित हुनसक्नु कठिन कार्य थियो तर हुँदाहुँदै यथार्थ बनेको थियो -सबैलाई नयाँ उज्यालो बाटो बालिदिएर। यो जातीय एकत्वले प्रभावित र प्रेरित बने भारतभरिका नेपाली। भारतमा अन्य जातिसितको विपर्ययले नेपाली स्वजातीय बोधवर्धनको यै प्रक्रिया सबल र क्रियाशील रहेको छ ऐले पनि, रहने छ पछितकै।

नेपाली जातित्वको विकासको प्रथम थलो दार्जिलिङलाई भारतका सब भागका नेपालीले आफ्नो अग्रणीको महत् मान्यता पुगापुग एक शताब्दी दिइरहे। बिसौं शताब्दीको शेषतिर मान्यता त्यो पनि शेषतिर घर्केको छ। यसको एक प्रमुख कारण: अबको दार्जिलिङले सर्वभारतीय नेपाली जातीय दृष्टिकोण राखेर कामहरू गरिरहेको छैन। दार्जिलिङमा स्थित राजनीतिक, साहित्यिक, सामाजिक, सांस्कृतिक जात पनि संगठन र संस्था छन् तिनीहरूको दृष्टि र कार्य दार्जिलिङमै सीमित छ; अखिल भारतीय नेपाली भाषा समिति वर्तमानमा नाक राख्ने एउटै अपवाद छ। आवश्यकता छ: संस्थाहरूको गठन, लक्ष्य र कार्य सर्वभारतीय स्तरकोमा परिणत गर्नु; सर्वभारतीय स्तरको संस्थाहरू स्थापित गर्नु। दार्जिलिङनै मुखिया हुनुपर्ने कुनै अलंघ्य नियम पनि हुनसक्तैन। ‘आवश्यकता छ: अखिल भारतीय विस्तारको संस्थाहरू स्थापित होस् र क्रियाशील रहोस् भारतको सब भागबाट।’

जुनै समाज वा जातिमा नयाँसँगै पुरानो, विकासशीलसँगै प्रतिक्रियाशील विचार, विश्वास, मनोवृत्ति, रहेका हुन्छन्। नेपाली जगत्मा पनि यस्तै छ। विश्वस्वार्थभन्दा देशविशेषको स्वार्थ सानो; देशभन्दा जाति, जातिभन्दा जात, जातभन्दा परिवार, परिवारभन्दा व्यक्तिगतता। ठूलो स्वार्थ र सानो स्वार्थको प्रतिद्वन्द्वता ठूलो स्वार्थमाछालाई सानो स्वार्थमाछाले निलेको धेर देखिन्छ: ‘लघुतर स्वार्थलाई प्राथमिकताको प्रवृत्ति’ यसलाई नामकरण गर्दा होला। देखिँदाको ठूलो स्वार्थ (राष्ट्रिय, जातीय) भित्र छद्मरूपमा वर्गीय, दलीय, गुटीय निहित स्वार्थहरू गुडुलिएको हुँदा त्यो कतिपल्ट सानो स्वार्थनै हुन्छ। त्यो चिनिँदा सकारण प्रतिक्रियामा क्रुद्ध अन्य कतिले पनि आफाफ्नै सानो स्वार्थहरू पक्रन्छन्। ‘प्राकृत (वन्य) स्थिति’ (स्टेट अव् नेचर) अन्तर्राष्ट्रियदेखि स्थानीयसम्मकै राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक, क्षेत्रमा समाप्त भएको छैन। देखिंदाको मात्र र झूटोभन्दा भिन्दै साँच्चैको ठूलो स्वार्थ (परार्थ भन्दा हुन्छ) अर्कै हुन्छ: राष्ट्र वा जातिभित्रका सबको हित हुने, सबको विकासको सुयोग हुने, कुनै जनभागले वञ्चित बन्न नपर्ने। ठूलो स्वार्थको सामाञ्जस्यमा सानो स्वार्थहरूको स्वायत्तात्मकता रहेको।

स्वार्थ र अहम् जस्ता विभेदकारी तत्त्वहरूसँगै त्याग र सहनशीलता जस्ता एकत्वकारी बलहरू पनि समाजमा रहेकै हुन्छन्। रहेकै छन् नेपाली जगत्मा पनि। स्वार्थ घट्दै सानो, झन् सानो स्वार्थ हुन्छ भने परार्थ बढ्दै ठूलो, अझ ठूलो परार्थ बन्छ।

व्यक्तिगत < परिवारिक < जातवादी वा गुटीय < जातीय < राष्ट्रिय < वैश्विक।

भारतका नेपालीहरूलाई आज जातीय ठूलो सड़कबाट हिँडाउनपर्छ। भोलि देशीय उच्च स्तरमा उक्लन पुग्नु छ हामीलाई।
समाजको लक्ष्य सँधै एक र एउटा रहँदैन। अघि सामाजिक कार्यहरू धर्मको निम्ति गरिन्थ्यो, पछि जातिको निम्ति गरिन्थ्यो। जाति र समाजभित्रको एकाइहरूले लक्ष्य अर्कै लिएको छ अब: गुटहरू र संगठनहरू छन्, सुविधा र लाभ जात सकिन्छ आफ्नै लागि धेर पाउन खोज्नेहरू। एकाइहरूको संकीर्ण स्वार्थ सुन्निएर बिसञ्चो बढ़ेको छ जातीय शरीरमा।

नेपाली जातित्वको घड़ेरी तर पक्का छ र रमाइलो जग्गामा छ। त्यसमाथि बनेको जातिघर छ उस्तै बलियो र सुन्दर। बढ्दै समेत छ विजयहरू पाउँदै। भूगोलमा जरा गाडेको, इतिहासको वायु-घाम-पानी खाई हुर्केको, सँगै एक आर्थिकता बाँचेको, सँधै एक सामाजिकता हाँसेको, एक भावना बोल्ने एक भाषा बनेको, जातीय संर्घषले विजयहरू जितेको, लम्केको अझ उच्च प्रातिप्ततिर जातीय भाग्य खोज्दै, यो जाति पर्वत एकाइहरूमाथि सदा रहिरहने हिमाल हो।
प्रणम्य।


नेपाली जाति कतातिर? प्रश्न राखी जातीय गठनको कसीले उत्तरमा दुइ-तीन कुरा यहाँ अघि सारियो। उत्तरहरू खोज्नु छ अरू पनि प्रश्नहरूमा। भारतीय राजनीतिको ठेलाइ र तनाइमा नेपाली जाति कतातिर? – प्रमुख प्रश्न छ एउटा। नेपाली जातित्वको बढ़ाइलाई अनुमोद नगर्ने राजनीतिक सिद्धान्तहरू छ यहाँ वरिपरिनै। धर्महरू र नेपाली जातित्व: मुख्य प्रश्न छ अर्को। कुन-कुन धर्म किन मिल्दैन नेपाली जातित्वसँग? मिलाउन सकिएला, मिल्न सक्लान् कतिसम्म? जाति आर्थिकतामा कतातिर? शिक्षामा कतातिर? सामाजिकतामा कतातिर? जातीय नेपाली भाषा कस्तो बोल्दै लेख्दै भाषामा कतातिर?

लेखिएको छ इतिहासहरू; बसोबासो र संघर्ष र नेतृत्वको, भारतका कति अञ्चलका नेपाली समुदायको र माथिको प्रश्नहरूको उत्तर पनि खोज्दै अब भारतमा नेपाली जाति: वृहत् इतिहास लेखिनु छ।

दार्जिलिङ जिल्ला पुस्तकालयद्वारा आयोजित संगोष्ठी
(अप्रिल १६६३) मा प्रस्तुत वार्ताको सारांश


The text has been republished here with permission from the editors of Indra Sampurna.