आयामिक पुनराविष्करण: (1) सम्पूर्णता
सम्पूर्णता लेखौं, र सम्पूर्णता बाचौं।
सर्वस्वीकार्य विश्वास आज बाँचेको वा जन्मेको छैन। भागअनुभाग विश्वासहरूमा बाँडिएर विश्वास-विभाजनको युग पृष्ठ पल्टाइ रहेछौं। स्थानिक प्रसर (स्पेशल एक्स्टेन्सन; special existence) र कालिक अवधि (टेम्पोरल ड्युरेशन; temporal duration) विश्वास दुवैतिर खण्डित छ। तेर्सा, प्रकारान्तरले, समकालीन वादका छिमेकी विश्वासहरूमा यी विभक्त छन् । स्थान विभिन्न विश्वासका बस्तीहरू छ। ठाड़ा, नवान्तरले, हिजोका व्यंग्यक विश्वासहरू आफू आज उपहसित बनेका छन्। समय विश्वासका ‘लहर लहरमा भाँचेर’[1] छ। सम्पूर्णता यसरी स्थानमा चोइटिएको, समयमाथि जिप्टिएको प्रकरणले साहित्यमा खती खोपिल्टाएको छ। फक्ल्याटो फोर्न खोजेको छ। स्वविश्वास नभिजाई लेखक कृति लेख्तैनन्, स्वविश्वासलाई देह दिन्छन् कृति। पाठक तर सबै सँधै लेखकका विचारका ग्राहक हुने पाइँदैनन्। विश्वासको यस विषमताले लेखक पाठकबीच व्यवधान बाउँछ, कृतिको पूर्ण आस्वादन (टोटल एप्रिशिएसन; total appreciation) -मा अवरोध बेसाउँछ। रामायणको विश्वासअघि पाठक भौतिकवादीको विश्वास यस्तै विभेदको सम्मुख पर्छ। शेलीका अधिकांश कविता पूर्णतः रस लिन इलियट असमर्थ रहेको तथ्य अर्वाचीन साहित्यिक उखान भएको छ। विश्वास-विभेदले कृतिको विविक्त आस्वादन छ। शास्त्रिक (क्लाशिसिष्ट; classicist) टी० एस० इलियटका वक्तव्य परस्पर-विरोधी छन्, प्राकृतिकवादी (नेचरलिष्ट; naturalist) आइ० ए० रिचार्ड्ज प्रायः आफ्नो प्रारम्भिक स्थापनाको खण्डन गर्छन्— तदपि कृतिमा विश्वासको उपादान र अस्तित्व मास्न दुवै सक्तैनन् ।[2] लेखकको विश्वास उपेक्ष्य मानेर कृतिको हृद्ग अधीति छैन। एफ० आर० लुविशले खोज गरेको ‘पूर्ण पाठक’ (कम्प्लीट रिडर; complete reader) पौर्व्य आचार्यहरूले कविका समानधर्म, सहृदय -मा खोजेका थिए। आस्थापूर्वक लेख्ने ईमान्दारीको अपरिहार्यता ‘शिल्पीमात्र’-लाई पर्दैन, आस्था र शिल्प तिनलाई असम्पृक्त रहन सक्छन्। सग्लो जीवीतव्यताका लेखक तर चारुकार्यका शिल्पी-सीमित होइनन्। ‘पूर्ण लेखक’ पाउन खोज्छौं। विभाजन अस्वीकारेर, त्यसकारण, सम्पूर्णताको रचना अन्वेषणीय छ। विश्वास-अनुरूप अर्जित ती विभक्त विश्वासका लेखन विभिन्नता हुँदैनन्, विभक्तता विभिन्नता होइन। विभक्ति स्वीकारेर साहित्यमा अवरुद्ध र खण्डित आस्वादन सहन गर्छौं। व्यावहारिकताले खण्डित जीवन बाँच्न बाध्य छौं होला, स्थूल एक स्थितिमा बाँधिएर बित्दछौं। सम्पूर्णतादेखि विस्थापित हामी आस्तित्विक दुःखवाद संघर्ष गर्छौं। विभक्तता मनस्-मा ओसार्न स्वभावत: विरोध गर्छौं। सम्पूर्णता हामीले हराएको हाम्रो सम्पद् छ। विभाजनहरू अतिक्रम्य छन्, सम्पूर्णता जीवन-सापेक्ष छ, जीवन-ग्राह्य छ।[3] ‘सम्पूर्णता’ -को सम्पूर्णता पुनर्सन्धानको अभियान बनौं।
सम्पूर्णताको धारणा अनुभवाश्रित (आ पोस्टेरिओरि; a posteriori) प्राप्ति छ, र प्रायोगिक आधारमा शोधपद्धति यो लिइन्छ: सम्पूर्णताको निम्ति सब राख्ने, केही नफ्याँक्ने सम्पूर्णताको निम्ति सहायक सब राख्ने, अ-सहायक सब फ्याँक्ने। सम्पूर्णता हाम्रो सर्व्वोच्च यथार्थ।
यी साहस लिएर तपाईंले हिंड्न मात्र तीन व्यंग्य उम्रन्छन्:
(क) सम्पूर्णताको निम्तिनै कति विचार त्याग्न पर्ने। विचार विशेषको सम्पूर्णता होइन, विचारहरूको यौगिक सम्पूर्णता होइन, सम्पूर्णताको जैव (ओरगॉनिक; organic) सम्पूर्णता हाम्रो वाञ्छनीय छ।
(ख) विभाजनहरू अतिक्रमण गर्ने अभियान आफै एक साम्प्रदायिक विभाजन बढ़ाउँछ। पारिमाणिक भागहरूको संख्यामा गौणिक पूर्णलाई गनेको त्रुटि छ।
(ग) पाठकको सम्पूर्णता र सम्पूर्ण पाठक समूह चाहने यो लेखन विज्ञ अल्पसंख्यकमा सीमित रहन्छ। सीमित होइन निर्भरित छ ऐले। बाटोको यो व्यावहारिक कठिनता मात्र।
एउटा मनुष्यको सम्पूर्णता कति हो?
मनुष्य दुइ अस्तित्वमानता (एन्टिटिज; entities) -मा छ : व्यष्टि र मानिस। व्यष्टिपक्ष र मानिपक्षको अन्तक्रियात्मक सामग्रिकता छौं प्रत्येक हामी। स्मरणको अविच्छिन्नताले चेतनानै वैयक्तिक आत्मत्व (पर्सनल आइडेन्टिटी; personal identity) बताएका हुन् जन लॅकले। व्यक्ति चेतना हो, मानिस अवचेतन र अचेतनको अस्तित्व छ। मानिस सबै मानिसको प्रातिनिधिक अनुभव हो, सर्वजनीन मानिसको सागरभित्र निमज्जित छ। एक व्यक्ति कुनै अर्को व्यक्तिको प्रतिकृति होइन, व्यक्तिगत स्मरण र चेतनाका ती बेग्ला-बेग्लै पहाड़ उभ्छन्। व्यक्तिवैचित्र्यका विविधता बाद दिएर सामान्यगत धारणाको (कन्सेप्चुअल; conceptional) ‘व्यक्ति’ बन्छ जुन देश-कालमा स्थितिसम्पन्न (एग्जिस्टेन्ट; existent) ‘व्यष्टि’-सँग देशहीन कालहीन भएर सहस्थित (सव्सिस्टेन्ट; subsistent) छ। प्लेटोलाई सामान्य (युनिवर्सल; universal) मात्र सत्य थियो, शाश्वत र सनातन। रिपब्लिक-मा छायाको- जगत् र कायाको-जगत्को काव्यमय सृजना छ जसमा सार्वजनिकत्व काया छ, व्यक्ति त्यसको छाया मात्र; भाव काया, इन्द्रिय छाया छ; धारणानै काया, वस्तु त्यसैको छाया मात्र। हामीलाई सामान्य (युनिवर्सल; universal) मात्र सम्पूर्णता होइन। जीवन (नै) सम्पूर्ण अस्तित्व हुन्छ, जीवनको आनुभूतिक समग्रता बढ्ला तर आस्तित्विक सम्पूर्णता यहाँ सँधै-देखिको छ। विशाल तर सम्पूर्णता-तिरको लक्ष्यात्मक (टेलिअलॅजिकल; teleological) अवयवी हो जीवन यहीं भन्न अधैर्य हतारिदैनौं। व्यष्टि र मानिसमा मनुष्य बद्ध छैन; मानव-को आयाम त्यहाँ युक्त छ, मानवसन्ततिको एकभूत एकांश। मानव हुनु निश्चयत: व्यष्टि र मानिस मात्र हुनुभन्दा विस्तृत जीवन हुनु हो। मानसिक एवं अचेतन (मानिस) र बौद्धिक एवं चेतन (व्यष्टि) -मा थप तृतीय आयाम समाहित छ। प्रश्न गर्नु छ : व्यष्टि र मानिस (=मान्छे)-को घनत्व के हुन सक्छ? आध्यात्मिकता, मानवता, वैकासिकत्व तथा अन्यानेक त्व र ता-हरू उत्तर-स्पर्धामा प्रस्तावित गरिन्छन्। निर्धारणलाई प्रथमतः आधारिक कसी जाँच्नु-पर्ने हुन्छ। काल, चतुर्थ आयाम, यस अन्वेषणपथको दिग्दृष्टिमा ध्रुव उभिन्छ। देश त्रै-आयामिक (दैर्घ्य, प्रस्थ, घनत्व-संयुक्त), काल एक-आयामिक (दैर्घ्य-लम्बित) परम्परागत प्रत्ययित धारणा, दुइ असम्पर्कित। आइन्स्टाइनको आपेक्षिकतावाद (रिलेटिविटी; relativity)-को ‘वैशेषिक सिद्धान्त’-ले देश र कालको पृथक्त्व (एलूफनेस्; aloofness) मासेको तथा-‘साधारण सिद्धान्त’-ले देश-कालर घटनावलीको भेद (डिस्टिकशन; distinction) मासेको ज्ञपित तथ्य छ। काल स्वरूपतः देशिक सत्ताले विशिष्ट छ, देश स्वरूपतः कालिक सत्ताले सम्पन्न छ। यो आँखा महत्त्वको भयो। काल (पारस्पर्य) देशकै चतुर्थ आयाम, र देश-काल आपेक्षिकता आत्यन्तिक यथार्थ समकालीनता (सिमल्टेनिटी; simultaneity) -को सापेक्ष पनि देश-कालको अविच्छिन्नताले स्पष्ट छ। देश-काल नैरन्तर्य (स्पेस्-टाइम कन्टिन्यूम; space-time continuum) स्वगुणयुक्त स्वास्तित्वशील तत्त्व नभई एउटा प्रबन्ध (स्कीम; scheme) हो जसले संवेदहरू (सेन्स; sense) -का समस्त ज्ञात परस्पर-सम्बन्धहरूको संक्षेपीकरण प्रस्तुत गर्छ, हाम्रा प्रत्यक्ष-परिचित संवेद-ग्रन्थन (सेन्स-हिस्ट्रिज; sense histories) को समरूपताले बोधगम्य छ।[4] देश-कालभौतिक यथार्थ भन्छौं, दार्शनिक काल अखण्ड अविभाज्य पूर्ण-काल छ, भूतवर्तमान-भविष्यत् -का छेद र भेदहरू सदावर्त्त (एभर प्रेजेन्ट; ever present) कालका सापेक्षिकता हुन्छन्। जीवनगत वैशेषिक तृतीय आयाम यसरी विशिष्ट चतुर्थ आयाम, पूर्ण काल,-ले प्ररेखित बनेको छ; कारण जीवनगत अनुभूति र चेतनाको सम्पूर्णता यै नैरन्तर्यमा मात्र अँटाएको छ। आयामिक चतुर्थ आयामको यस आधारिकताले व्यक्ति र मानिस आयामिक तृतीयत्वमा परिभाषित हुन्छ : अखण्ड देश काल नैरन्तर्यमा सम्पूर्ण अस्तित्व बाँचेको मान्छे। मान्छे आजको संवत्। महीना। गते। घड़ी-को एकपत्र च्याप्टो अस्तित्व नभई सदाकालमा रहँदै आएको रहने जीवति हो। आदर्शवादी (आइडिअलिस्ट; idealist) दार्शनिकहरू स्वचेतनाको प्रकाशमा आफैलाई अन-अहम् (नन-इगो; non-ego) -मा वस्तुरूप चिन्तन गर्छन्, यहाँ मानव जीवनको वास्तु-आस्तित्विक प्रत्यक्षण छ। स्थानिक प्रसरमा पनि एक व्यक्ति आफूमा अनेक अस्तित्व गाभेर हिंडेको छ। खापहरूमा (स्थानिक र कालिक) घनत्व बाक्लो पर्छ। संक्षिप्तमा, समीकरणमा पाउँछौं क्षणक्षण जन्मेका हामी हाम्रै पुराकथा (मिथ्ज; myths) हौं, र अगणित हाम्रा आद्यस्वरूप (आर्कीटाइप्ज; archetypes) छन् । पूर्ण कालमनि आद्यन्त स्थित छ हाम्रो आस्तित्विक सम्पूर्णता।[5]

अरस्तॅतलबाटकै तत्त्व हो, आन्तरिक आवश्यकताले स्वप्रकृति आत्मसिद्ध (रिअलाज्ड; realised) गर्न बाध्य लिब्नीजका मोनडमा अतीतमै वर्त्तमान र भविष्यत्-को पूर्वनिर्माणको स्थापना छ। फेरि विको भेटिन्छन् जसले इतिहासलाई मानव-स्वभाव पढ्छन्, र इतिहास मानव-स्वभाव बाहिर जान नसकी यसैमा पुनरावृत्त छ। येट्स र जेम्स् जोइसले यो विचार थापेर साहित्यिक सृजना उकासे।[6] जोइसको समान्तक घटनीयतामा-यूलिसिज-मा-होमरीय महाकथाका घटनावली अद्यतन कार्यानुक्रममा पुनरावृत्त छन्। काफ्कको ‘कालहीन काल’ व्यावहारिक सदाकाल छ। अर्को युक्ति ‘काल-प्ररोह’ (टाइम-कूलीज)[a] विकसित छ। टोमस म्यानले एब्राहामको आवर्त उत्सर्ग चिन्न (टेल्स् अफ जेकब-मा, पृष्ठ १७९), रोमा रोलॉले जॉ क्रिस्टोफ पूर्वजहरूको दीर्घक्रममा उसलाई अवस्थित देख्न (जॉ क्रिष्टोफ-मा, पृष्ठ ५९६), प्रूस्तले डचेस डे गर्मन्तिसको (Duchesse de Guermantes) व्यष्टिमा समूहगत परिचयन साक्षात्कार गर्दा (गर्मन्तिस वे, खण्ड द्वितीय, पृष्ठ ७६-७७; Guermantes Way) र वर्जिनिआ वूल्फले ओरलान्डो-मा नायकलाई सँगै आफ्ना पूर्वजको प्राक्अस्तित्वमा हुर्काउँदा ‘काल-प्ररोह’ (टोमस म्यानकै नामकरण यो) प्रयोजित पढ्छौं।[7] आवर्त काल (रिकरेन्ट टाइम; recurrent time) साहित्यमा साधित गर्नसम्म यसरी कृतकार्य रहेछन् भनौं। तर सगरमाथा यहीं टेक्दैनौं। आवर्त्तकाल कतिनै पनि पूर्णकाल हुँदैन। विगतको दोहोरो-तेहरोनै ‘सदा’ होइन; सदा-मा विगत-आगतअनागत आजैको मुहूर्तमा घटित भएको हन्छ। विगत उहिले एक्लै घटित, वर्तमान ऐले एक्लै जीवित, भविष्यत् कैले एक्लै जन्मनेहरू होइनन्। सदावर्त्तकाल छ सँधैमाथि। दोहोरिने कालले मात्र देखिएको तृतीय आयामदेखि हामी एउटा ठूलो फड्को हानौं। पुनरुदभूत नभई सदास्थित छ पूर्णकाल। यो कदाचित् भाव्यता (बिकमिङ्; becoming) – भन्दा अधिकतर भविता [बिइङ; being [in existentialism]) हो।

सदास्थितताको संदृष्टि (भिजन; vision) -ले, स्पष्ट छ, सम्पूर्णतासम्मैको बोध अन्वेषणीय हो, युगबोध प्रशस्त छैन। देश, जाति, वर्गका ऐतिहासिक संघर्षहरू एक चानाभरिको युगमा नछोटिई सदावर्त्ततातकको विस्तीर्ण जीवन उच्चारित गर्ने यसैले हुन्छन् । दोहोरै भूत र भविष्यत्देखि इतिहासको संक्रमण छ।[8] आजैमा हामी सन्तुष्ट छैनौं, सवर्था असम्पूर्ण यो स्थितिमा हामी सन्तोष अघाएका छैनौं। हेगलको ‘यथार्थ जन छ त्यै बौद्धिक हो’–सँग पनि सहमति राख्दैनौं। जीवन लक्ष्यात्मक छ, हामी यात्रापथमा छौं–यो हाम्रो आस्था, र त्यो सायुज्य जसलाई सम्पूर्णता भन्छौं-तिरको प्रगतिदिशा यहाँ हामीले खुट्याउनु छ। हामी स्वनियंत्रणवादी (सेल्फ-डिटरमिनिस्टिक; self-deterministic) छौं। कतिवटै चौध वर्ष बिताएर होस् प्रत्येक हामीले राजत्वमा फर्किसक्नु पर्छ, कुन अर्जित अधिकारले त्यस ऋक्थमा पुगौं त्यो प्रत्येक हाम्रै उत्तरदायित्व। स्थितिका पनि पूर्वजहरू, अनुजहरू, यहीं छन्। दौंतरी यी पात्रहरूलाई लिएर सम्पूर्णताको महाकाव्य क्षणक्षणभित्र आत्मसात गर्नु छ। प्रत्याह्विक हाम्रा तहहरू अभिप्रायवन्त छन्।
आजैको इतिहासभित्र क्रियाशील लेखकनै पक्षग्राह बन्छ। इतिहासको अग्रगति घच्याँट्नदेखि छुट्टै उभिने कविको अवकाशको नि:सर्गता सात्रले माने।[9] अप्रत्ययगर्भ (नन-कन्सेप्चुअल; non-conceptual) रंग र ध्वनि माध्यमका कलाकार र संगीतकार उसरीनै ‘क्रान्तिकारी’ भए प्राविधिक तहमै हुन्छन्, वैज्ञानिक वा मनोवैज्ञानिक जस्तै। सार्त्रले तर गद्य-लेखक काम्यूलाई आफ्नो क्रोध कराए,[10] कारण ऐतिहासिक विद्रोह काम्यूको लेखा पारभौतिक विद्रोह (मेटाफिजिकल रिबेलियन; metaphysical rebellion)-मा परिणत र अन्त हुनुपर्छ। अस्तित्वको विसंगति (एवसर्डिटी; absurdity) विरुद्ध समुचित प्रत्युत्तर आत्महत्या दि मिथ अफ सिसिपस-मा विमर्ष गरेर काम्यू यो युक्ति त्याग्छन्। दि रिबेल–मा काव्य उपयुक्त युक्ति पारभौतिक विद्रोहमा पाउँछन् जुन अस्तित्वको समग्रताविरुद्ध पूर्ण विद्रोह छ। इतिहासमा लिप्त नरहनमा काम्यू ठीक बाटामा छन् लाग्छ। ‘विसंगति’-लाई तर सन्दिग्धदृष्टिले हेर्दछौं। म ‘चाहन्छु व्याख्या सब थोकको वा केहीको चाहन्न।’[11] काम्यू घोषित गर्छन्। ‘मानवीय यसै आवश्यकताबाट र जागतक मूढ़ मौनताले विसंगति सुष्ट हुन्छ।’[11] मानव-अस्तित्व मूलतः विसंगत लाग्दैन, धूलिमलिन पनि एउटा योजनाभित्र जीवन बाँचेको बोध छ हामीलाई। जीवनलाई व्याख्यायित गरेर बुझ्नैपर्ने पनि किन? जीवन र अस्तित्वलाई ठम्याउन बौद्धिकता मात्रमा सर्वस्व विश्वास साधन अपर्याप्त उपयोजित छ।

Notes:
[a] टाइम-कूलीज; we were unable to ascertain its meaning, or the actual term if it was an error in the source text.
References:
(1) विम्ब : वैरागी काइँला
(2) The statement of Keats (beauty is truth, truth beauty) seems to me meaningless: or perhaps, the fact that it is grammatically meaningless conceals another meaning from me. The statement of Shakespeare (ripeness is all) seems to me to have profound emotional meaning, with at least no literal fallacy. And the statement of Dante (In la sua voluntate e’ nostr a pace; His will is our peace) seems to me literally true. And I confess that it has more beauty for me now, when my own experience has deepened its meaning, than it did when I first read it. So I can only conclude that I cannot, in practice, wholly separate my poetic appreciation from my personal beliefs.
T.S. Eliot, Dante (Faber & Faber, 1965), Section II (Note), p. 54.
It is easy, by what seems only a slight change of approach, to make the initial step an act of faith, and to make the whole response dependent upon a belief as to a matter of fact. Even when the belief is true, the damage done to the whole experience may be great, in the case of person whose reasons for this belief are inadequate, for example, and the increased temporary vivacity which is the cause of perversion is no sufficient compensation.
I.A. Richards, Principles of Literary Criticism (Routledge & Kegan Paul, 1961), p.276.
(3) युक्ति अन्वेषणमा एउटा पथ:
In his recent talks Krishnamurti illustrates awareness by making it co-extensive with ‘listening’, which is not exclusive listening to the speaker’s words, but a ‘total’ listening to all surrounding sounds and noises as well.
Total listening makes our mind ‘silent’. For one thing, it relieves us from the strain of focussing attention; then again as it excludes all interpretation, it makes the mind free of all rival and conflicting interpretations or points of view; and lastly, it gives us a sense of totality, which is different from accumulation of particular views. As we do not divide a total into parts, we are free from all states of comparison and of conflicts arising from comparison.
A.D. Dhopeshwarkar, J.Krishnamurti and Awareness in Action (Popular Prakashan, Bombay, 1967,) p. 156.
(4) The Special Theory of Relativity may, in fact, be summed up in the following statement: There is a whole set of different directions in Space-Time, equally permissible as time-directions for dating physical events. But all the permissible time-directions are confined within certain limits. Corresponding to any one of these will be a timeless space, whose points are the world-lines parallel to it. Every physical event has a unique place and date in any one such frame. Its place in the timeless space of any frame is determined by the line, parallel to the time-direction of the frame, which passed through it. Its date in the frame is determined by its position on this line. The laws of all physical phenomena have precisely the same form, no matter which of these frames is used for placing and dating them.
C.D. Broad, Scientific Thought (London, 1949) p. 475.
(5) Space and Time have no reality apart from each other, but are aspects of attributes of one reality, Space-Time or Motion. This is the stuff of which all existences are composed: and it breaks up of itself into those complexes within the one-all-embracing stuff.
Samuel Alexander, Space, Time and Deity (1920), p.428.
उन्मेषवादले वैकासिकत्व-माथि, आयामले सदावर्त्तता-माथि, अधिक दृष्टि राखछ।
(6) Vico fascinated Yeats and Joyce, also, because, like Nietzsche, he believed in an eternal recurrence. It was in the nature of human society when it had reached a certain stage of civilisation to collapse into primitivism again, and then the whole scheme of human development which Vico had sketched out would start off once more… Yeats was to develop a recurrence-theory himself, with occult and magical trimmings, in A Vision. In Joyce’s last very obscure and difficult work Finnegans Wake, the opening page begins in the middle of a sentence and the beginning of the sentence is the last thing in the book; so that theoretically one could turn back to the beginning from the end, and go on for ever, which, according to Joyce, is what history does.
G.S. Fraser, The Modern Writer and His World (Rupa & Co. 1961), p. 7.
(7) दुइ साक्ष्य उद्धरण:
Many a time and oft had he lived again in his tales, telling them in the first person, as we pright, partly because his ego faded out and back into the archetype, partly because what had been had now become the present in his flesh and might have repeated itself conformably to the foundation.
Thomas Mann, Tales of Jocob.
If the name, Duchesse de Guermantes, was for me a collective name, it was so not merely in history, by the accumulation of all the women who had successively borne it, but also in the course of my own short life, which had already seen, in this single Duchesse de Guermantes, so many different women superimpose themselves, each one vanishing as soon as the next had acquired sufficient consistency.
Marcel Proust, Guermantes Way.
(8) History is not only flowing from the past into the future; true history is a counterflow to the movement from the future into the past; it is eternal rotation in the ‘now’.
Kitaro Nishida, Intelligibility and the Philosophy of Nothingness (Maruzen Co., Tokyo, 1958), p. 158.
(9) Poets are men who refuse to utilize language… Once and for all he has chosen the poetic attitude which considers words as thing and not as signs. For the ambiguity of the sign implies that one can penetrate it at will like a pane of glass and pursue the thing signified, or turn his gaze towards its reality and considers it as an object. The man who talks is beyond words and near the object, whereas the poet is on this side of them…. If this is the case, one easily understands how foolish it would be to require a poetic engagement.
Jean-Paul Sartre, What Is Literature? (Washington Square Press edition, 1966), p. 4-9.
(10) जॉ पल सार्च, काम्यूलाई प्रत्युत्तर, सिचुएसन्स्, चतुर्थ पृष्ठ ७०-७८.
(11) अल्वेर काम्यू, दि मिथ अफ सिसिपस (विन्टेज बुक्स, १९५५), पृष्ठ २०,२१.
The text has been republished here with permssion from the editors of Indra Sampurna.


