THE KAKU

देउसी-भैलो-तिहार गीत

Shiva Kumar Rai

Shiva Kumar Rai had written the following five songs for celebrating Tihar, by Deusey and Bhailo.

देउसीको त्यौहार

फेरि आयो देउसीको त्यौहार
निशा रानीले पहिरिन मणि मुक्ताको यो हार
देवसे टोली घरघरै आए
सङ्घारमा अलख जगाई
उफ्रीपाफ्री देवसी खेल्छन्
बलिको सन्देश सुनाई।

फेरि आयो देउसीको त्यौहार
वर्ष दिनको चाँड़ बाड़
मादलमा लौ गम्कि उठ्यो
मादले गीत राखेर रीत
आँगनमा नाच जुट्यो।

फेरि आयो देउसीको त्यौहार
सारा संसार घुम्छौ डुल्छौ
भन्छन् भयो अबेर
दीयो र कलश भेटी राखी
घरपट्टि दिन्छिन् पूजेर
फेरि आयो देउसीको त्यौहार।

DSC05289
Kukkur Tihar (Photo: Creative Commons)


हे मेरी दिदी

हे मेरी दिदी, हे मेरी बैनी, लाईदेऊ यो टीका
धाएर आएँ, लाएर जान्छु, चेलीको यो टीका

दीयो र कलश पुजेर दिदी, तैयारी गरन
सिम्रिक चन्दन केशरी रङ्गले यो माथ भरन

भोको छ पेट फुको छ केश, माइती यो भन्दामा
आउँला कि अब भनेर बस्दा दिन बित्यो गन्दामा

पानीले छेकी यमको छाँया, आयुको कामना
यमको हड्डी म फोरी गर्छु, मृत्युको सामना

हे मेरी दिदी, हे मेरी बहिनी, लाईदेऊ यो टीका
चेलीको सीप यो फूलको माला, नबनोस् त्यो फीका

मानेको पातमा, प्राणको फोका, कत्ति दिन अड़ने हो
माया र प्रीति सधैं हो रहने, यो शरीर सड़ने हो

हे भगवती हे महाकाली, माइतीको तनमा
नलागोस् धूलो नबिझोस् काँडा, भाइको मनमा

आजको टीको, आँघुको निम्तो, दुःखिनी चेलीको
माइतीको याद हर्दम रहोस्, दुःख–कष्ट हेलीयो।

झिलमिल पाला

झिलमिल झिलमिल पाला टिलपिल लाखौं ज्योतिको
जगमग जगमग दीपको माला लाखौं मोतीको

केराको थाममा देवसे जम्मा आँगनको कुनामा
धूप र बत्ती, दीयो र कलश, अछेता दुनामा

धपक्क बले, डाँड़ा र काँड़ा, औंसीको रातमा
पिलपिल गर्छ जुनकेरी सब केराको पातमा

घर-घर आए चेली र बेटी, भैलेनी रीतले
घनक्क घन्क्यो, औंसीको रात भैलेनी गीतले
त्यौहारले ल्यायो, पहाड़ी देशमा जीवनको बहार।


मन मयुर मेरो

मन मयुर मेरो नाच्यो रे, नाच्यो रे, नाच्यो रे
यो माया भाइलाई साँच्यो रे, साँच्यो रे, साँच्यो रे ।

भोको यो पेट, फुल्यो यो केश, माइतीको पूजा सजाउन
पानी र तेलले माइतीलाई छेकी, यमलाई टाड़ा पन्साउन
चन्दन सिम्रिक, कुमकुम छर्की, माइतीलाई टीका लगाऊ
फूलको माला खिरिलो गाँसी, माइतीलाई हार पहिराऊ।

नलागोस् धुलो, नबिझोस् काँडा, शरीर मङ्गल रहोस्
केरा झैं गाँजे, दुबो झैं मौल, माइतीको आयु बड़ोस्
हे भगवती लक्ष्मी माता, चिरायु सदा बनोस्
नमरी बाँचे, कालले साँचे, भेट निरन्तर बनि रहोस् ।

Tihar
Saipatri Mala (Photo: Creative Commons)

पालाको लहर

पालाको लहर, जगमग शहर, लाखौं ज्योतिले
औंसीको रात, चमचम चम्क्यो, लाखौं मोतीले।

औंसी कालो केश बिजाई, आई स्वर्गकी रानी
कालो रातको गाजल कोरी, बनी रूपकी खानी।
रङ्गविरङ्गी ज्योति पुञ्जले, भरी आँचल पारी
आई स्वर्गकी रानी।

पालाको लहर, जगमग शहर, लाखौं ज्योतिले
औंसीको रात, चमचम चम्क्यो, लाखौं मोतीले।

झण्डा पताका रङ्गविरङ्गी सयपत्रीका माला
मगमग फूल, धूपको वासना, पूजी लक्ष्मी माता
औंसीको रातमा, भैलेनी गीत, गुञ्जियो जतातता
पालाको लहर, जगमग शहर, लाखौं ज्योतिले
औंसीको रात, चमचम चम्क्यो, लाखौं मोतीले।

Shiva Kumar Rai (Writer, social worker and Cabinet Minister)



The songs have been sourced from Shiva Kumar Rai Granthawali (2019) and have been republished here with permission from the publishers.