सूर्य भोलि पनि तलतलै जान्छ। हाँगाहरू छाड़ेर चराहरू पातहरू गए। सूर्य शिरमाथि चहकिलो बस्न आउँदैन। दिन यसरी अँध्यारो बित्छ।
शिरमाथि खोज्दा सिक्रा रूखहरू छन्, दिन धमिलिएको पंर्वत छ, मैलो त्यही आकाश छ।
अगि बिहान राती, निद्रा र रात नतुरिएकै अँध्यारोमा, आफै उसले खासखुस सुनेको थियो : ‘बूढ़ो र शक्तिहीन भइसकेकोछ राजा पिता’, ‘उर्वरता मर्यो’, ‘शक्तिवान् नयाँ राजा खोज्नुपर्छ।’ ममा प्रशस्त केही शक्ति अझ छ। – उसले नमर्न चाह्यो ।
ढुंगामा हिंड्दै उ निकै तल झरिसकेको थियो। छक्क परेर-रोकियो। ढुंगालाई हेर्यो। ढुंगा छाम्यो। रुखको बोक्रा रंगकै ढुंगा छ। रुखकै बोक्रा जस्तो खस्रो, कड़ा अझ। ढुंगा यस्तै परतिर देख्यो, कहिल्यै नउम्रेका अरु पनि। उभिएकै, आँखा उसका सिक्रा धेरै रूखहरूमा डुले, तिखाहरूले आँखा घोचिएको लाग्यो। धर्के शरीरको अर्को ढुंगालाई हिंड़ेर अब उ खोल्सानेर पुग्यो। बाघको अनुहार बनेको उ यहाँ जानवरको थाहले बढ़ेकोछ, कानमा थाह थापेर पानी बगेको, पानी चुहेको। कुल्चेको टेकेको आफ्ना आवाजहरूबिच पानीको स्वर खोज्यो। शक्ति सुकेको छैन , ममा शक्ति अझ छ, खोज्यो। पानी कहीं बजेन, बोलेन।
पानी चिसो बसिरहेको चिसो सुँघ्न खोज्यो। बाक्लिएको बतास मात्र थियो। आँखाले खोज्दा पानीको वासनै मरेको थियो। सुकेका माटो त्यसै टाँसिएका मैला दुइटा ढुंगा थिए, लेउ मसिना उम्रेका सुकेका उप्केकाहरू थिए। माटो धस्केको मुनि झुन्डिएको, धुलो भरिएको सानो टालो जालो थियो। उसले दूबो एक मुठी उखेल्यो, सजिलै आयो त्यो, मोटो हत्केलामा टकटकायो, फूको झरयो। जरा मसिना अलिकता त्यान्द्रा रहेछ। उसका मोटा ओठहरूमा जराहरू छुवायो, ओठले थिचेर निचोर्यो। पानी फुटेन, चिसोसम्म आएन। सुक्का थियो, ओठहरू जस्तै। आतेसिएर चलेका भए उसका काला आँखा।
‘बूढो र शक्तिहीन’। उकालोभरि आफ्नै अशक्तता भेट्यो। आफू रूख भाँचिएको, आफू बाटो बिग्रिएको। किरासम्म आफू नबाँचिरहेको। ‘केही जन्माउन सकिरहेको छैन । केही बचाउन सकिरहेको छैनँ।’
अनि अघिल्तिर तेर्सोमा, उसले देख्यो, उता फर्की एक व्यक्ति उभिएको रहेछ। उसले पनि हेर्यो, व्यक्ति आफ्नै छोरो चिन्योर । देखिरहेको थियो काँड़ाहरूनै मात्र थिए। बएरहरू गोला पहेंलाका संझना झुन्डँदै त्यहाँ काला काँड़ाहरू मात्र थिए। सिक्रो एउटामा गिर्खाहरू खोज्यो माथिसम्मन् थिएन, अर्कोमा देख्नखोज्यो, पाएन। छैन, गिर्खा गर्भदुखेको कुनै हाँगामा। एउटा काँडा उप्काएर भाँच्यो। भाँचियो। औंलामा काँड़ालाई फेरि भाँच्यो। सुकेको, मरेको।
छोराले ऐले, उसलाई देख्यो। दुवै उभिरहेका भए, हेरिरहेका।
‘सुन’, उसले बोलायो। अनि भन्यो :
‘भन्दै रहेछन् – तेस्रो वर्ष भयो रे सहकाल पर्खेको। केही जाग्न उम्रन सकेन यो वर्ष पनि। भन्दै रहेछन् – तीन वर्ष भयो राजाको सन्तान भएको छैन, राजाले शिकार मारेको छैन’।
‘भन्दैछन् -‘ छोराले भन्यो ‘भूइं लास जस्तो चिसो भइसक्यो। सेतोले ढाकिदैछौं।’ तुसाराहरू, लेकको हिउँहरू हेर्यो उसले।
‘सेतो ओढ़ाइन हामी मान्ने छैनौं।’
पिता राजा करायो –
‘जितेर फेरि शक्ति प्राप्त गर्छ, उर्वरता ल्याउँछु । दूबोहरू ! रूखहरू! ममा रहेको शक्ति बढ़ाएर तिमीहरू हरियो प्राण पाओ! चाँडै कि मैले मरेर यहाँ उर्वरता आइपुगोस्।’
‘केही शक्ति ममा छ -‘ छोरासँग भन्यो ‘तिम्रो बल थपिदेऊ।’
डाँडामा उभेको अजङ ठूलो रुख ढाल्न काट्न बिसाएर डिलमा बस्यो उ छोरो। ‘पिता राजालाई मार्ने आवश्यकता हाम्रो स्वार्थ? हो। किनकि हामीले बाँच्नुछ। बाँच्नुको अर्थ बढ्नु, आफूमा गाँस र दिन थप्दै बढ़ेर बाँच्नु । बाँच्ने स्वार्थ सबै स्वार्थको जड़। मानिसको अस्तित्व रहँदैन बाँच्ने स्वार्थबिना, मानिसनै यहाँ हुँदैनौं। हामी यहाँ हुनु र हामी बाँच्नको स्वार्थी हुनु एकै छ प्रकृतिमा। बाँच्ने स्वार्थ प्रकृतिबाट छ, प्रकृतिमै छ, प्रकृति हो।’ उसले हतियार हातमा लियो। “यही राजा सँधै यसरी हाम्रो बाधक थिएन। हामीलाई बचाउन र बचाएरै अधि राजा बनेको थियो। प्रकृत अप्रकृत प्रकोपहरूदेखि हामीलाई उसैले बचाइराख्यो। उसकै सिंहालमा, उसैको हाँगामा हामी खेल्यौं, हुर्क्यौ। बाक्लै पातहरू अब उसमा छैनन् । शौर्य उसको कठोरतामा मात्र परिणत छ। ढाल्नैपर्छ, नत्र किचिइनेछौं।” उठ्यो, चितुवाको अनुहार उचालेर, प्रहार हतियारको लायो लगातार रूखको फेदमा। त्राशद परिमापले ढल्नेछ, अनुमान लाग्यो। “यसलाई ढाल्नैपर्छ।’
औंसी आज थियो, भरे कालो रात हुने। अँध्यारो पानीझैं दिन भयो, खोलाभित्र थुनिएकोझै दिन। आगोहरू रातो उम्रिरहेको र बटारिंदै उकालैउकालो धूवाँ थियो। भय नगरा बजिरहेको बेला छ। राजा, केही घाइते बनाइएको, मौलोमा बाँधिएको थियो।
बाँधिएकोदेखि छुट्ने बल गर्यो। फलाम चुडाउन चाहन्थ्यो। हतियार टिपेर धेरैलाई मार्न चाहन्थ्यो। अत्याचारीनै भए पनि राजा भइरहन चाहन्थ्यो ।
फुस्रो मध्यदिन, लाटकोसेराको आँखा जस्तो, आइपुगेको बढ्दै थियो।
अनि राजालाई पक्रेर बलिया दुइ जनाले ल्याए।
वधशिला अघिल्तिर थियो, आज फेरि धोइएको।
‘बैगुनीहरू, तिमीहरू,’ करायो उसले सबलाई। एकपल्ट विरोध गर्यो, पक्राउ अझ बलियो कसेको बन्यो। अब विरोध गरेन।
तुच्छ देख्यो वध्यशिला। चिल्लोहरू र दागैदागहरूको तुच्छताको। तुच्छ सबै ती उभिएकाहरू।
“उर्वरता हामीमाथि छर्क! शक्तिवान् बन!”
फर्केर पछि हेर्यो। जवान उभिरहेको छोरा देख्यो। जुझ्नखोज्यो बाँधिएकै। पक्रेकाहरूले उसलाई वध्यशिलामा घोप्टाए।
सेतो काटियो गर्धन। कैलो मासु देखे। चिच्याए हर्षहरू। रातोको आहाल बढ्दै आयो।
डाँड़ामा पनि त्यस रात बूढ़ो वर्षको चिता जलाइयो।
Written by Indra Bahadur Rai

